रसुवा काङ्ग्रेसद्वारा ६ जना निष्कासन
रसुवा- नेकपा (माओवादी)का उम्मेदवारको पक्षमा खुलेयाम सहयोग गरेको भन्दै नेपाली काङ्ग्रेस, रसुवाले आफ्ना ६ जना कार्यकर्तालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । नेपाली काङ्ग्रेस, रसुवाका सभापति लालबहादुर तामाङ र सो पार्टीका संविधानसभा सदस्य उम्मेदवार बालचन्द्र पौडेलले एक विज्ञप्ति जारी गरी पार्टीका दिलबहादुर लामा -डिबी लामा), थुप्तेन लोप्साङ लामा, तरुण दलका अध्यक्ष श्याम गुरुङ र धैवुङ इकाइ सभापति लेखनाथ न्यौपानेलाई कारबाहीको सिफारिस गरिएको हो । यसैगरी बागी उम्मदेवारको आरोपमा मन्जु गुरुङ, श्याममाया तमाङ र मेनलामा तमाङलाई पनि कारबाहीको माग गरिएको छ । उनीहरुलाई ६ वर्ष निष्कासन गर्न सिफारिस गरिएको छ । कारबाहीका लागि सिफारिस गरिएका नेता डिबी लामाले आफू नुवाकोटको व्यक्ति भएको र निर्वाचनको समयमा रसुवा जिल्लामा प्रवेश नै नगरेकोले आफूलाई लगाएको आरोप निराधार भएको प्रतिक्रिया दिनुभयो । संविधानसभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसले यस जिल्लामा प्रत्यक्षतर्फ ३ हजार ६ सय १२ र समानुपातिकमा ३ हजार ६ सय १४ मत प्राप्त गरेको थियो । |