आज निर्वाचनको अन्तिम परिणाम
काठमाडौ-निर्वाचन आयोगले संविधानसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ बिजयी सबै दलका ३३५ जना विजयी उम्मेदवारको नामावली आज सार्बजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले बिजयी उम्मेदवारको प्रमाणपत्र सम्बन्धीत पार्टीका पदाधिकारीलाई बितरण गरेको छ । समानुपातिक तर्फ संविधान सभामा प्रतिनीधित्व गर्नै मधेशी जनअधिकार फोरम बाहेक अन्य सवै दलका प्रतिनीधि आयोगमा पुगेका थिए । नेपाली कांग्रेसका मुख्य सचिव शोभाकर पराजुली एमालेका भीम रावल र माओवादीका खिमलाल देवकोटाले आ- आफ्नो पार्टीबाट बिजयी उम्मेदवारको प्रमाणपत्र बुझ्नुभएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख आयुक्त पोखरेलले आजै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभामुख सभाष नेम्बाङ समक्ष प्रत्यक्ष र समानुपातिक तर्फबाट बिजयी ५ सय ७४ जनाको नाम बुझाउने बताउनुभयो । उहाँले महात्तरी क्षेत्र नम्बर ६ को निर्वाचन अदालतले अन्तरकलिन आदेश जारी गरेकाले अन्तिम परिणाम रोकिएको पनि बताउनुभयो । पोखरेलले निर्वाचनका सवै कार्यक्रम सम्पन्न भएकोमा सहयोग गर्ने सवै पक्षलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो । प्रमुख आयुक्त पोखरेलले दुवै निर्वाचन प्रणालीमा ३३ दशमलब २२ प्रतिशत महिला ३४ दशमलब ९ प्रतिशत मधेशी ८ दशमलब १७ प्रतिशत दलितको प्रतिनीीधत्व भएको बताउनुभयो । त्यस्तै ३३ दशमलब ३९ प्रतिशत आदिबासी जनजाती ३ दशमलब ८३ प्रतिशत पिछडिएको क्षेत्र र अन्य समुहबाट ३३ दशमलब ९१ प््रतिशत प्रतिनीीधत्व भएको पोखरेलले जानकारी दिनुभयो । समानुपातिकतर्फ ३३५ सिटमध्ये माओवादीले १ सय काँग्रेसले ७३ एमालेले ७० मधेशी जनअधिकार फोरमले २२ तमलोपाले ११ सिट प्राप्त गरेका छन् । समानुपातिक तर्फबाट २५ दलले सँविधान सभामा प्रतिनिधित्व पाएका छन् । अन्तिम नामावली सार्वजनिक भएको २१ दिन भित्र सरकारले संविधानसभाको पहिलो बैठक बोलाउनु पर्नेछ । |