सातदलको बैठक वालुवाटारमा जारी, कांग्रेस एमालेद्धारा संविधान संसोधन गर्न प्रस्ताव
काठमाडौ-नयाँ सरकार गठन र संविधानसभाको पहिलो बैठक गणतन्त्र कार्यान्वयन लगायतका बिषयमा छलफल गर्न सातदलका शीर्ष नेताहरुको बहुप्रतिक्षीत बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सद्भावना आनन्दीदेवी बाहेकका सबै छ दलको सहभागिता रहेको छ । आजको बैठकमा नेपाली कांग्रेस एमाले लगायतका दलहरुले सातदल भन्दा बाहिरका दलहरुलाई समेट्न र नयाँ सरकार गठनका लागि अन्तरिम संविधान संसोधन गर्नुपर्ने प्रस्ताव गरेका छन । सो प्रस्तावमा माओवादी नेताहरुको असहमति रहेको स्रोतले बताएको छ । बैठक स्थल प्रवेश गर्ने क्रममा सँचारकर्मीसँग बोल्दै वाममोर्चाका अध्यक्ष सिपी मैनालीले माओवादीको नेतृत्वमा नयाँ सरकार गठन गणतन्त्रको कार्यान्वयन सँविधान सभाको पहिलो बैठक जस्ता विषयमा छलफल हुने जानकारी दिनुभएको थियो । बैठकले संविधानसभामा मन्त्रीपरिषदवाट मनोनयन गर्ने २६ जनाका सम्बन्धमा पनि निर्णय गर्ने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले संविधानसभा निर्वाचनको अन्तिम नतिजा सार्वजानीक गरेको भोली पल्ट सातदलको बैठक बसिरहेको छ । निर्वाचनको अन्तिम नतिजा सार्वजानीक भएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बस्नुपर्ने सम्बैधानीक प्रावधान छ । |