काङ्ग्रेस कार्यकर्ताद्धारा पत्रकारलाई ज्यानमार्ने धम्कि
नेपालगञ्ज- रत्न राजमार्ग बन्दको समाचार सङ्कलनका लागि सुर्खेतको हर्रे पुगेकी पत्रकार तीला भण्डारीलाई बन्द आव्हान कर्ताहरुको एक समुहले समाचार सङकलनमा रोक लगाउंदै ज्यान मार्ने धम्की दिएको छ । सुर्खेत-नेपालगञ्ज सडकखण्डको हर्रेमा बन्दका आयोजकहरुले सवारी साधन रोक्दै यात्रुलाई अलपत्र पारेपछि स्थालगत रिपोर्टिङ्गमा पुगेकी महिला पत्रकार भण्डारीलाई बन्दको तस्बिर खिच्न रोक लगाई मार्ने धम्कि दिएका हुन् । ज्यान मार्ने धम्कि दिदै अभद्र ब्यवहार गरेपछि भण्डारी ज्यान सुरक्षाका लागि नेपालगञ्ज आइपुगेकी छन् । उनले आफुलाई नेपाली काङ्ग्रेस निकट तरुण दलका अध्यक्षको नेतृत्वमा रहेको समुहले यस्तो ब्यवहार गरेको बताइन् । 'समाचार सङ्कलन गरेमा ज्यान मार्ने र बलत्कार गर्ने धम्कि दिए' नेपालगञ्जमा आज विहान पत्रकारहरुसंग भण्डारीले भनिन्- 'सुर्खेत जान नसक्ने भएपछि सुरक्षाका लागि नेपालगञ्ज फर्किए ।' सो समुहले तस्बिर खिच्दै गरेको उनका क्यामेरा खोसेर मेमोरी कार्ड समेत झिकेर लगेका छन् । पत्रकार माथि भएको दुब्र्यवहारको बाँके र सुर्खेत पत्रकार महासङ्घ शाखाले घोर निन्दा र भत्र्सना गर्दै ज्यान मार्ने धम्कि दिने माथि कारवाही गर्न प्रशासन समक्ष आग्रह गरेका छन् । सुर्खेतमा बस्न सक्ने अवस्था नरहेपछि नेपालगञ्ज पुगेकी पत्रकार भण्डारीलाई आज नेपालगञ्जबाट पत्रकार र मानवअधिकारवादीहरुले सुर्खेत पठाउने तयारी गरिरहेका छन् । टोलीले सुर्खेतको सुरक्षा निकाय, मानवअधिकार सङ्घ-सङ्गठनसग भेट गरी पत्रकार भण्डारीको ज्यान सुरक्षा एवम् काम गर्ने वातावरण तयार गर्न आग्रह गर्ने जनाएको छ ।
|