बुद्ध जयन्ती विश्वभर मनाइदै
काठमाडौं- संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्त्तक गौतमबुद्धको २५५२ औं जयन्ती आज विश्वभर मनाईदैछ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूणिर्माकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । वि.सं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत मानिएका गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिईदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशन भएको बताइन्छ । यिनमा इङ्ल्यान्डबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको 'एसियाको ज्योति (१८७९)', तत्कालीन भारतीय संविधान मस्यौदा कमिटीका अध्यक्ष डा. भीमराव राम अम्बेडकरको 'बुद्ध र उनको धर्म (१९५७)' र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हर्मन हेस्सेको 'सिद्धार्थ (१९२२)' प्रसिद्ध छन् । यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाको 'बुद्धिस्ट डिक्सनरी' (१९५०), र 'विश्वमा बुद्ध' (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको 'बुद्धको विचार' (१९५९), इटलीका जिसेप्पे टिउचिलेको 'मुस्ताङको भ्रमण' (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अतिप्रसिद्ध अक्सफोर्ड, क्याम्बि्रज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्धदर्शन अध्ययन अध्यापन हुँदै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयले पनि बौद्धदर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन-अध्यापन गर्दै आएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रस्तावित सिद्धार्थ विश्वविद्यालयले पनि बौद्धदर्शनको अनुसन्धान र चर्चा परिचर्चा गर्ने गरेका छन् । अन्तरजगतका कुशल चिकित्सक तथा बाहृय जगतका कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए र ती 'विनय', 'सुत्त' र 'अभिधम्म' पिटक आदि पुस्तकमा संग्रहीत छन् । सम्राट् अशोकले ई.पू. २४९ मा 'हित बुद्ध जातेती लुम्बिनी ग्रामे' भनी ब्राहृमी लिपिमा नेपाली भाषामा लेखेको अशोक स्तम्भ लुम्बिनीमा पत्ता लागेको १ सय ९ वर्ष पुगेको छ । तत्कालीन पश्चिम क्षेत्र कमान्डर जनरल खड्गशम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा.फुररको सहयोगमा स्तम्भ उत्खनन् तथा सन् १९५६ मा चौथो विश्व बौद्ध भ्रातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको गुरुयोजना आरम्भ भएको थियो ।
|